विदाको दिन शनिबार। बिहान एउटा गन्तव्यविहीन यात्रामा निस्कन मन लाग्यो। केही पाए खिचिहाल्छु भन्ने सोचेर ब्यागभित्र क्यामेरा हुलेँ र लागेँ पश्चिमतिर लखरलखर हिँड्दै। हातमा गह्रुँगो ब्यागको भारी नबोके पनि कलंकी पुग्नेबित्तिकै ‘पोखरा हो?’, ‘चितवन हो?’, ‘कहाँसम्म दाइ’ भन्दै माइक्रो र बसका एजेन्टहरु हातै तान्न आइपुगे। कलंकीको बाटो हिँड्ने सबै थानकोट कट्ने उद्देश्यले हिँडेका हुन्छन् भन्ने ठान्दा रैछन् कि के हो यिनीहरु! उनीहरुलाई पन्छाउँदै एक किलोमिटर हिँड्दा पनि उल्लेखनीय केही नदेखिएपछि फनक्क फर्किएँ।
कलंकी चोकबाट दायाँतिर मोडिएँ- बल्खुतिर चक्रपथको बाटो हुँदै। एक जमानामा यो चक्रपथको बाटोमा मानिसहरु एक घण्टामा कति गाडी गुड्छ भन्दै गन्दै बस्थे रे। अहिले त एक मिनेटमा कति गाडी गुड्छ पनि गन्न गाह्रो भइसक्यो। त्यसैले बाहिरी चक्रपथ बनाउने कुरा भइरहेका छन्। यो चक्रपथमा विद्युतीय बस चलाउने कुरा पनि गफै भइसक्यो। अहिले फेरि फ्लाइ ओभर बनाउने अध्ययन भइरहेको छ रे।
पानी नै बग्न छाडेको बल्खुको खोलामाथि बनेको पुलतरेर केही बेर हिँडेपछि सामूहिक स्वरमा सुमधुर गीतको आवाज कानमा पर्यो। यसो हेरेँ- एउटा टहराजस्तो घरमा क्रसको चिह्न रहेछ। अर्थात् क्रिश्चियनहरुको चर्च रहेछ त्यो। आवाजले तान्यो मलाई। कसरी प्रार्थना गर्दारैछन् उनीहरु हेर्न मन लाग्यो। म त्यतैतिर तानिएँ।
त्यो रहेछ बल्खुको सलोम चर्च। बाहिर गेटमा तीन युवकहरु आगन्तुकलाई नमस्ते गर्दै स्वागत गर्दै थिए।
‘भित्र गएर हेर्न र फोटो खिच्न पाइन्छ?’ मैले एक जनासँग सोधेँ।‘पाइन्छ, पाइन्छ, किन नपाउनु’ क्याप लगाएका एक जनाले हँसिलो स्वरमा भने। उनको हातमा ‘मेटल डिटेक्टर’ थियो। केही अघि केही पापीहरुले चर्चमा गरेको आक्रमणको फलस्वरुप सतर्कता अपनाउन त्यसो गरिएको होला।‘पहिलो पटक आउनु भएको हो?’अर्कोले सोध्यो।‘विश्वासी त हो नि,’ क्यापवालाले सोध्यो। मतलब क्रिश्चियन धर्म मान्ने हो कि हैन भनेर सोधेको होला।मैले सीधै ‘होइन’ भनेँ।मेरो आशाविपरीत उनले मेरो हात अझ हार्दिकतापूर्वक समाते र भने जानुस् जानुस् पाइहालिन्छ नि।मेरो उद्देश्य त्यहाँको प्रार्थनामय वातावरणको महसूस गर्नु, ‘विश्वासी’हरुको उनीहरुको प्रभुप्रतिको विश्वासलाई अझ नजिकबाट हेर्नु र केही फोटोहरु खिच्नु थियो। मैले फेरि सोधेँ- ‘फोटो त खिच्न मिल्छ हैन?’‘मिल्छ, मिल्छ’, अब त त्यहाँ भएका तीनै जनाले जवाफ दिए।क्रिश्चियन हैन भनेर भन्दाभन्दै पनि मलाई त्यहाँ उनीहरुले जुन हार्दिकता देखाए, त्यसबाट म प्रभावित भएँ। म लागेँ हलतिर। के गाइरहेका थिए, मैले बुझिरहेको थिइनँ। तर त्यो सुमधुर थियो। शायद वातावरणले पनि होला कि।
केही महिनाअघि काठमाडौँ कै चर्चमा पापीहरुले गरेको बम आक्रमणको घटना सम्झिएँ। दशैँताका धरानको एउटा चर्च परिसरमा पाल भत्किएर कति धेरैको ज्यान गुमेको सम्झिएँ। ती सब घटनामा हाम्रा क्रिश्चियन दाजुभाइसँगै हामी सबै मानव पनि रोएका थियौँ। भदौ १९ काण्डमा भीडले मस्जिदहरुमा आक्रमण गरी उनीहरुको पवित्र कुरानलाई च्यातेर अपमान गरेको सम्झँदा अझै पनि मन दुख्छ सबै मानव धर्म मान्नेहरुको। कुनै पनि धर्म आफैमा खराब हुन्न। तर सबै धर्ममा खराब मान्छेहरु हुन्छन्। विश्वास जुन धर्ममा भए पनि माया, प्रेम, आपसी विश्वास, अहिंसा र सद्भाव मानव धर्म हुन्। म विपश्यना ध्यानको अभ्यास गर्छु तर बाटोमा हिँड्दा आइपडमा ॐ भुर्भुवस्वः देखिका विभिन्न वैदिक मन्त्रहरु सुन्न रुचाउँछु। मुस्लिमहरुले अल्लाह….भनेको रिदम एकदमै मनपर्छ। कमाएको निश्चित रकम दान गर्नुपर्ने उनीहरुको नियम र विपश्यनामा सिकाइने अहं भाव त्याग्न गृहस्थहरुले दान गर्न गरिने प्रोत्साहनको उद्देश्य लगभग एकै हो। अरुका लागि सामूहिक प्रार्थना गरिदिने क्रिश्चियनहरुको प्रवृत्ति ध्यानबाट प्राप्त आत्मिक सुख मानवलाई मात्र हैन पृथ्वीलोकका सबै प्राणीले पनि पाउन् भनी विपश्यनाको अन्त्यमा गरिने मंगल मैत्रीको उद्देश्य एकै हो।
जुत्ता फुकाल्नुपर्ने रहेछ हलभित्र पस्न। फुकालेर भित्र पसेँ। महिला र पुरुषको छुट्टाछुट्टै लहर रहेछ। टिनको छानो छाएको झण्डै २ सय जना अट्ने हल पूरै भरिएको थियो। सबै प्रार्थनामग्न थिए। अगाडि मञ्च जस्तो थियो, त्यहाँ ६ पुरुष र २ महिला माइकमा केही गाउँदै थिए।बाहिर गेटबाट हार्दिकतापूर्वक अनुमति पाइसकेको हुनाले म अघिल्लो लहरतिर पुगेँ र क्यामेरा निकालेर फोटोयोग्य दृश्य खोज्न थालेँ। प्रार्थनामग्नहरुको ध्यान बिग्रिएला भनेर फ्लास राख्न चाहिनँ, त्यसैले क्यामेराको सेटिङमा आइएसओ बढाएँ। एउटा क्लिक मञ्चमा अर्को क्लिक हलमा भएका मान्छेहरुतिर। अर्को क्लिक गर्न भ्याएको थिइनँ, मञ्चको बायाँतिर बसेका एक जना हर्ताकर्ता जस्ता देखिने मान्छे हुर्रिँदै आएर सोध्यो- ओए के खिचेको? किन खिचेको? कहाँबाट हो?बाफ् रे, एउटा प्रश्नको जवाफ दिन नपाउँदै कति धेरै प्रश्न।मैले आफू कार्यरत संस्थाको नाम बताएँ। उनले बुझेनन्।अनुमति लिएको हो?हो।कहाँ?गेटमात्यति सवालजवाफमा नै उनी मदेखि असन्तुष्ट भएको प्रष्ट भइसकेको थियो। उनको मनमा म प्रति क्रोध जागिसकेको थियो। मैले ‘खिच्न मिल्दैन हो? सरी, त्यसो भए जान्छु नि त’ भनेँ र तत्काल अर्को ढोकाबाट बाहिरिएँ। उनी फर्किए आफ्नै स्थानमा। त्यो हलमा दुई वटा प्रवेशद्वार रहेछन्। म अघिल्लो प्रवेश द्वारमा फर्किएँ र अघि फुकालेको जुत्ता लगाएँ र त्यहाँबाट बाहिरिएँ। मलाई थाहा पनि थिएन के हो, कस्तो हो- पहिलो पटक चर्च छिरेको थिएँ।
गेटमा अघि मलाई हार्दिकताका साथ स्वागत गर्ने दाइहरुलाई ‘बेकारमा गाली खाइयो नि’ भनेर भनेँ। उनीहरुले ‘कसले गाली गर्यो र आउनुस् म सँगै लैजान्छु तपाईँलाई’ भन्न थाले। अब फेरि त्यहाँ जानु भनेको त्यो अघिको मान्छेको असन्तुष्टि झन् बढाउनु मात्र हुन्थ्यो। सानै भए पनि हल्लाले त्यहाँको प्रार्थनामग्न वातावरणमा केही सानै मात्र बाधा पारे पनि त्यो म जस्तो उनीहरुको नजरमा ‘अविश्वासी’को कारणले होस् भन्ने म चाहन्न थिएँ। बरु म बित्थैमा त्यो व्यक्तिको असन्तुष्टिको कारण बनेकोमा पछुतो लागिरहेको थियो। म त्यहाँ नभएको भए कम्तिमा उनी एक जना त असन्तुष्ट हुने थिएनन् नि। मैले आफू कार्यरत संस्थाको भिजिटिङ कार्ड ती दाइलाई दिएँ र ‘होस् अब म लाग्छु है’ भनेर हिँडेँ। उनीहरु ‘सुन्नुस् न हाम्रो कुरा’ भन्दै जोड दिँदै थिए। मैले फर्केर हेरिनँ। फर्कँदा मैले ती प्रार्थनाका आवाजहरु प्रष्टसँग सुनिनँ।
By Salokya, on March 13th, 2010
उनलाई डा. केपी ओली नै भन्ने रे !
15 years ago
No comments:
Post a Comment