NEWS OF NEPAL

Wednesday, March 3, 2010

माओवादी लडाकुलाई जंगलै फर्काइने


सेना समायोजनको कुरा अहिले निकै चर्चामा छ। माओवादी सेनालाई कसरी राष्ट्रिय सेनामा समायोजन गर्ने भन्ने बहस भइरहेको बेला सरकारले भने उनीहरुलाई जंगलै फर्काउने तयारी गरेको छ।
जंगल फर्काउने भनेको फेरि युद्ध गर्नलाई हैन नि- जंगलको सुरक्षाका लागि पो त। माओवादी सेनाका लागि सरकारले नयाँ राष्ट्रिय सुरक्षा फौज बनाउन लागेको छ जसको नाम हुनेछ राष्ट्रिय वन संरक्षण सेना। अस्ति बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नै यो प्रस्तावमा सैद्धान्तिक सहमति दिइसकेको रहेछ। यो नयाँ फौज वन तथा भूसंरक्षण मन्त्रालयको मातहत रहने छ। तर त्यसको संयोजन भने नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षणसम्बन्धी विभागले गर्ने प्रस्ताव भएको रहेछ।
अहिले विभिन्न शिविरहरुमा माओवादीका १९ हजार चानचुन सेना छन्। ती मध्ये कतिलाई समायोजन गर्ने भन्ने सहमति भइसकेको छैन। ३ हजार मात्र गर्ने भनी उतिबेला गिरिजा र प्रचण्डबीच सहमति भएको भन्ने कुरा आएको थियो। तर माओवादीले त्यति हैन बढी नै गर्ने भनिरहेका छन्। जति हतियार छ उति समायोजन गर्ने प्रस्ताव पनि कांग्रेस र एमालेले राखेका छन्।
प्रस्तावित ‘जंगल सेना’ मा भने माओवादीका ६ हजार लडाकु राख्‍ने तयारी भएको समाचारमा जनाइएको छ।
माओवादी अध्यक्ष प्रचण्डले शक्तिखोरको कुख्यात बनेको भिडियोमा सेनामा आफूहरु सानो संख्यामा मात्रै प्रवेश गर्न पाए आफूहरु विचार भएको सेना हुनाले पूरै सेनालाई माओवादीमय बनाउन सकिन्छ भन्ने विचार राखेका थिए। त्यसैले पो हो कि यी लडाकुलाई जंगलतिरै पठाउँदा बेस हुने ठानेको! त्यसो त औद्योगिक सुरक्षा बल स्थापना गर्ने कुरा पनि पहिले बारम्बार उठेको थियो।
माओवादीले अहिले संविधान बन्ला जस्तो छैन त्यही भएर संविधान बनेपछि मात्र समायोजन गर्छौँ भन्न थालेका छन्। त्यसैले यो प्रस्ताव कार्यरुपमा नै जाने हो कि त्यतिकै थन्किने हो, हेर्न बाँकी छ। त्यसैले अहिलेलाई त माओवादी लडाकुलाई नभनी वन मन्त्रालयले ६ हजार सुरक्षाकर्मी परिचालन गर्ने मात्रै भनिएको रहेछ। कुरो मिल्यो भने लडाकुहरुलाई अन्य सामान्य सरकारी कर्मचारी सरह भर्ना गर्ने तयारी भएको रहेछ।

No comments:

Post a Comment